२५ मेगावाटको माथिल्लो दोर्दीले २४ मेगावाटको बडिगाड निर्माण गर्ने

लमजुङ, १७ साउन । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी-ए ले आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको लिवर्टी इनर्जी कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बताए ।

विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ । विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ ।

उनका अनुसार आयोजनाको मुख्य संरचना बडिगाड खोलाको बायाँ किनारामा पर्दछ । खोलामा बाँध बाँधी खोलाको बाँयापट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुराइनेछ ।

विद्युतगृहमा जडान भएको तीनवटा टर्बाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board