काठमाडौँ, १७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताए ।
काठमाडौँमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’को लोकार्पण समारोहमा उनले पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चीनतर्फका नाका खुला गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नु परेको बर्ता ।
२०७२ सालमा नाकाबन्दी लागेपछि आफूले उत्तरबाट पनि ट्रान्सपोर्ट, ट्रान्जिट खुला गरेको ओलीको भनाइ छ । उत्तरका नाका खुला गरेपछि नेपालमा नाकाबन्दी हुन नसक्ने परिस्थिति सिर्जना गरेको उनले दाबी गरे ।
सुगौली सन्धिले महाकालीको उद्गमदेखिको पूर्वपट्टीको भूभाग नेपालको हो भनिसकेको अवस्थामा त्यसमा विवादको विषय नै हुन नसक्ने ओलीको भनाइ छ । नेपालले नक्साबाट त्यो भूभाग हटाएको भन्दै त्यसलाई नक्सामा सामेल गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीले उल्लेख गरे ।
“त्यति बेला पनि मलाई थाहा थियो, यहाँ ठुलो उपद्रो मच्चिनेवाला छ । तर, मैले प्रधानमन्त्रीबाट हट्नुपर्यो । त्यो कुरा थाहा थियो । नभन्दै हट्नपर्यो,” ओलीले भने ।
उनले प्रधानमन्त्री पद गुमाउनुपर्दा आफूलाई कत्ति पनि पिर नलागेको तर सत्तामुखि भएर अहिले भइरहेको गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया समेत दिए । उनले सत्तामुखि भएर राष्ट्र हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहरुलाई पटक–पटक सचेत गराए ।
त्यस अवसरमा उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए ।
प्रतिक्रिया