भारतसँग नेपालकाे लज्जास्पद हार, फाइनल पुग्ने सम्भावना न्यून

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८–० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा भारतसँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा घरेलु टोली भारतले दोस्रो हाफमा गोलको वर्ष गर्‍यो ।

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गर्दै अग्रता दिलाए । नेपालका गोलरक्षक ईश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो हाफमा थप ७ गोल थप्यो । खेलको ५०औँ मिनेटमा पार्थिवले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । त्यसको दुई मिनेटपछि पार्थिवले नै व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा ३–० को अग्रता दिलाए ।

६४औँ मिनेटमा पथुम गिन्हानाले चौथो गोल गर्दा ७२औँ मिनेटमा हिमान्सु जंग्राले गोल गर्दै स्कोर ५–० मा पुर्‍याए । यस्तै, ७८औँ मिनेटमा टंकधरले गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत संहले सातौँ गोल गरे । इन्जुरी समयमा सुभो पलले गोल गर्दै भारतले नेपालविरुद्धको जित ८–० ले सुनिश्चित गर्‍यो ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलबाट ६ अंक भए पनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेको माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपाल फाइनल पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ । नेपाललाई फाइनल यात्रा तय गर्न अन्तिम खेलमा बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्ने छ ।

मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति