जनार्दन शर्मा पूनः अर्थमन्त्री नियुक्त, साढे ५ बजे शपथ

काठमाडाै, १५ साउन । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त भएका छन्। उनले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेको जनाएको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अहिले प्रधानमन्त्रीले सम्हालेको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

शर्माले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालयले साँझ साढे ५ बजे शर्मालाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ।

चालू आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनले असार २८ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

उनीमाथि छानबिन गर्न प्रतिनिधि सभाले संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। समितिले साउन १३ गते छानबिन प्रतिवेदन बुझाएको थियो।

जसमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्न भएको नदेखिएको उल्लेख छ। संसदीय विशेष छानबिन समितिले सफाइ दिएसँगै उनलाई पुनः अर्थमन्त्री नियुक्त गरिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति