तुलसीपुर विमानस्थल हवाई इन्धन डिपोमा तालाबन्दी

दाङ, १५ श्रावण । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोमा तालाबन्दी भएको छ ।

दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आइतबार संयुक्त रूपमा ताला लगाएका हुन् ।

जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन । लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थललाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उपप्रमुख चौधरीले बताइन् ।

नेपाल आयल निगम तुलसीपुरमा ध्यानाकर्षणपत्र बुझाई बाउजर नलैजान सचेत पनि गराइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले बताए । ध्यानाकर्षणपत्रमा बाउजरलाई यथावत राख्न अनुरोध गर्दै मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।

तुलसीपुर डिपोमार्फत नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्र पठाइएको चालिसेले बताए । टरिगाउँ विमानस्थलमा हालसम्म नेपाल वायु सेवा निगमको जहाज मात्रै चल्दै आएको छ । इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन सकिरहेका छैनन् ।

आयल निगमबाट बाउजर काठमाडौं पठाएर अर्को ल्याउने आश्वासन पाएको आयल निगम तुलसीपुर डिपो प्रमुख विपिन श्रेष्ठले बताए । अहिले स्थानीयले बाउजर लैजान नपाइने माग गरेपछि उक्त जानकारी केन्द्रमा गराएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति