भूकम्पले भोजपुरमा २ र खोटाङमा १ घर भत्किए

काठमाडौं । आइतबार बिहान गएको भूकम्पले भोजपुर र खोटाङमा तीन घर भत्एिका छन् ।

खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घर र खोटाङमा एक घर भत्किएका हुन् ।

भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो ।

त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको जानकारी दिए।

‘हामी विपद् व्यवस्थापनमा काम गर्ने निकायहरु सबै सतर्क अवस्थामा छौं,’ उनले भने।

१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका परकम्पन निकै समयसम्म आएको थियो। त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो।

यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति