बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउँछ : अष्टलक्ष्मी शाक्य

लमजुङ । नेकपा (एमाले)की केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् ।

नेकपा एमाले लमजुङले सदरमुकाम बेँसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स–सना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन् ।

“यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महँगी घट्दैन, न त संवृद्धि नै आउँछ,” शाक्यले भनिन्, “हेर्नुहोस् त एमसीसी पास गरेर अमेरिकी सेना भित्र्याउँदैछन । यो सिधै चाइनामाथि धावा बोल्न हो ।”

मुलुकमा संघीयता सही ढंगले सञ्चालन गर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन, “हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर, अहिले व्यवस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भैरहेको छ, यो कार्य गलत छ ।”

यस्तै, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धनविरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए ।

उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए । नेता गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति