काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा युवा, प्रौढ र वृद्धहरु चाहिने बताएका छन् । आजकाल कतिपयले बुढा नेताहरु चाहिँदैन भन्ने गरेको भन्दै प्रचण्डले त्यसलाई समाज भत्काउने विचार भएको बताए ।
‘यहाँ एकथरी मान्छेहरु आजभोलि बुढाहरु चाहिँदैन । प्रौढहरु चाहिँदैन । हामी केटाकेटी मात्रै भए पुग्छ भनेको जस्तो गरी आउन थालेका छन् । त्यो समाज भत्काउने विचार हो । त्यो समाज बनाउने विचार होइन । समाजका निम्ति युवाहरु पनि चाहिन्छ । प्रौढहरु पनि चाहिन्छ । वृद्धहरु पनि चाहिन्छ । सबैलाई उचित सम्मान गरेर, उचित समायोजन गरेर मात्रै राजनीति, पार्टी, समाज, राष्ट्र राम्रोसँग अगाडि जाने कुरा हो । युवा बिना समाज चल्दैन,’ उनले भने ।
माओवादी केन्द्र सम्पर्क समन्वय समिति प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उपस्थितलाई उनले बुढा नेता चाहिँदैनन् भन्नेहरुलाई तर्कपूर्ण र तथ्यपूर्ण तरिकाले खण्डन गर्न आग्रह गरे । ‘यो परिवर्तन नरुचाउनेहरु अनेक बाहनामा कहिले युवाहरुलाई निषेत्र गर्न खोजेर, कहिले वृद्धहरुलाई निषेध गर्न खोजेर र कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कसरत भएका छन् भन्ने कुरा तपाईंहरुले बुझ्न जरुरी छ,’ उनको भनाइ थियो ।
सबै उस्तै हुन् भन्ने तर्कप्रति पनि प्रचण्डले असन्तुष्ट सुनिए । ‘यो विज्ञान विरोधी कुरा हो,’ उनको भनाइ थियो, ‘६० वर्ष पुगेका सबै उस्तै हुन्छन् ? ७० वर्ष पुगेका सबै उस्तै हुन्छन् । सबै पार्टीका नेताहरु सबै उस्तै हुन्छन् त ? यो साँचो कुरा हो त ? विज्ञानसँग मेल खाने कुरा हो त ? जीवन जगत र प्रकृतिसँग मेल खाने कुरा हो त ? विल्कुल होइन । सबैभन्दा ठुलो कुरा भनेको विचार हो ।’
अबको निर्वाचनमा माओवादी केन्द्र देशकै पहिलो पार्टी नभए पनि वामपन्थी पार्टीहरुमध्ये भने पहिलो हुने प्रचण्डले बताए ।
‘आउँदो प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पूरै सम्भावना छ,’ उनले भने ।
यसबारेमा नेपाली कांग्रेसका नेताहरुसँग पनि कुराकानी गरेको बताए । यसमा कांग्रेसले सहयोग गरे सबै चिजहरु सहजरुपमै अघि बढ्ने र सहयोग नगरेमा भने सहज रुपले अघि नबढ्ने प्रचण्डले चेतावनीसमेत दिए ।
‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईंहरु नै हुनुहुन्छ । त्यो देखियो । दोस्रो चाहिँ माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ होइन भने सहज जाँदैन । यसमा हाम्रो कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी हुन्छ,’ उनले भने ।
प्रतिक्रिया