काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा.खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णयबारे सरकारले अमेरिकालाई आजसम्म जानकारी नदिनुले जनतामाझ विभिन्न आशंका पैदा गरेको बताएका छन् । एलायन्स फर सोसर ट्रान्सफर्मेसन एन्ड ह्युमन एस्योरेन्स (आस्था)ले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो भूराजनीतिक आयाम र नेपाल’ विषयक कार्यक्रममा डा.केसीले मुलुकको असंलग्न परराष्ट्र नीतिमा विचलन आउन लागेको हो कि भन्ने आशंका देखिएको बताए ।
“केही वर्षयता एसपीपीबारे नेपाल र अमेरिकाबीच भएका संवाद हेर्दा नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीति अन्तर्गत अमेरिकी सैन्य गठबन्धनमा तान्न प्रयास भइरहेको हो कि भनेर आशंका गर्ने ठाउँ दिएको छ । यदि त्यसो हो भने त्यो हाम्रो असंलग्न विदेश नीतिविपरीत हुनजान्छ,” डा.केसीले भने । भूराजनीतिक मामिलाका विश्लेषकसमेत रहेका डा.केसीले एसपीपीमा अघि नबढ्ने नेपालको निर्णयपछि अमेरिकासँग त्यही खालको अर्को सम्झौता गर्ने तयारी रहेको चर्चा सुन्न थालिएको बताए ।
“एसपीपीको नभए पनि म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट वा स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) जस्ता नामबाट सम्झौता हुन लागेको चर्चा छ । यदि यस्ता सम्झौता भएको खण्डमा त्यसले नेपाललाई सिधैँ अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा जोड्ने कुरामा शंका छैन,” उनले भने ।
डा.केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरुको बाक्लिँदो नेपाल भ्रमणले जनतामा संशय पैदा गरेको समेत बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो भन्ने स्पष्ट हुँदा हुँदै नेपालका राजनीतिक दलले संसद्बाट सम्झौता गरेको बर्ता । “ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता सदनबाट पास गरियो । तर, त्यो घोषणा त केवल लाज ढाक्ने लगौँटी थियो भन्ने लाग्छ । एमसीसीलाई सन् २०१२ यताका सबै सरकारले अघि बढाउँदै आएको देखिन्छ,” उनले भने ।
सन् २०१२ मा एसपीपी नेपालमा अघि बढाइँदा हिन्द प्रशान्त रणनीति र चीनको बेल्ट एन्ड रोड अवधारणा दुवै नआएको प्रसंग उनले उल्लेख गरे । तर, सन् २०१७ मा ट्रम्प प्रशासनले एमसीसीलाई हिन्द प्रशान्त रणनीतिमा घुसाएको बताए ।
डा.केसीले नेपालले टाढाको छिमेकी रहेको अमेरिकालाईभन्दा निकटतम छिमेकी चीन र भारतसँगको सम्बन्धलाई महत्व दिनु आवश्यक रहेको बताए ।
प्रतिक्रिया