प्रधानमन्त्री देउवाले ‘चुनाव घोषणा गर्छु’ भन्दा प्रचण्डले रोकेपछि …

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव घोषणा गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थन मागेका छन् ।

अध्यक्ष प्रचण्डले भने तत्काल निर्वाचन घोषणा नगर्न देउवालाई सुझाव दिएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देउवाले फोन गरेका थिए । आफू चुनावको मिति घोषणा गर्न लागेको भन्दै देउवाले समर्थन चाहेको बताए ।

बिहीबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका अध्यक्षसहितका नेताहरुसँग प्रचण्डले देउवाले फोन गरेर चुनावको मिति घोषणा हुन लागेको बताएको र आफूले केही दिन रोक्न आग्रह गरको बताएका हुन्।

प्रेस सेन्टरका नेताहरुसँग खुमलटारमा आधा घण्टा समय दिएका प्रचण्डले देउवाको फोन संवाद सुनाएका हुन्।

‘म क्याबिनेट बैठकबाट चुनावको मिति घोषणा गर्दैछु, तपाईँको समर्थन दिनुस्,’ मलाई देउवाले टेलिफोनमा हिजो भन्नुभयो,’ प्रचण्डले भने, मैले भनेँ केही दिन पर्खिनुस्।’

आफूले नागरिकता विधेयक र सत्य निरुपण तथा वेपत्ता नागरिक खोजविनको लागि बनेको विधेयक पारित नगरी चुनाव घोषणा नगर्न सुझाव दिएको प्रचण्डको भनाई थियो।

‘कम्तीमा नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजविन सम्बन्धि विधेयक संसदबाट पास गरेर मात्र चुनावको मिति घोषणा गर्नुहोला,’ प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएको सुझाव उधृत गर्दै भने, अब हेर्नुहोला केही दिनमै चुनावको मिति घोषणा हुन्छ।’

बाहिर चुनाव सार्न अनेक चाल चालेको भनेर हल्ला भइरहेको छ। यसमा सत्यता नभएको प्रचण्डले दाबी गरे।

‘बाहिर अनेक खालका हल्ला चलेका छन, यसमा सत्यता छैन, केही दिनमा चुनावको मिति घोषणा हुन्छ र मंसिर ४ मै चुनाव हुन्छ,’ प्रेस सेन्टरका नेतासँग प्रचण्डले ठोकुवा गरे।

प्रचण्डले माओवादीलाई यसपटकको चुनावमा हार्ने छुट नभएको भन्दै सबै तयारी गर्न निर्देशन दिएका छन् ।

यसैबीच चुनावको मिति घोषणा लगायतका विषयमा छलफल गर्न अहिले केहीबेरपछि सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको मिति, गठबन्धन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

प्रचण्ड दिल्ली भ्रमण गरेर फर्केपछि ३ साउनमा गठबन्धनको बैठक बसेको थियो। त्यसको १० दिनपछि आज बैठक बस्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति