एसइईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने रिजल्ट ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षण्को जिम्मेवारी पाएका शिक्षक–शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्र र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए ।

एसइई नतिजालाई परीक्षार्थीको प्राप्तांकअनुसार ७ वटा ग्रेड निर्धारण गरिने छ ।

परीक्षार्थीको प्राप्तांकअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए प्लस’ ग्रेड मानिने छ, जसलाई जीपीए ४ दिइने छ । ८०–९० अंकसम्मलाई ‘ए’, जसलाई जीपीए ३.६ दिइने छ । यस्तै, ७०–८० अंकसम्मलाई ‘बी प्लस’ जसलाई ३.२ जीपीए दिइने छ । ६०–७० अंकसम्मलाई ‘बी’ ग्रेड मानिने छ, जसलाई जीपीए २.८ दिइने छ ।

५०–६० अंकसम्मलाई ‘सी’ ग्रेड दिइने छ र जीपीए २.४ मानिने छ । ४०–५० अंकसम्मलाई ‘डी प्लस’ ग्रेड मानिने छ र जीपीए २ दिइने छ । त्यस्तै, ३५–४० सम्मकालाई ‘डी’ ग्रेड मानिने छ भने जीपीए १.६ दिइने छ । ३५ अंकभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा था पाउन सकिन्छ । त्यस्तै, अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति