काठमाडौँ, ११ साउन । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । समितिले आजदेखि प्रतिवेदन लेखनको काम थाल्ने तयारी गरेको छ ।
छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकालेको समितिको मंगलबारको दुई चरणको बैठकपछि अब प्रतिवेदन लेखनमा केन्द्रित हुने ‘निर्णय’ गरेको थियो । त्यसका लागि सिंहदरबार प्रवेश गरेको शंकास्पद गाडीबारे विस्तृत बुझ्ने समितिको ठहर छ ।
सिसिटिभी फुटेजको अध्ययनको क्रममा एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको देखिएको समितिका एक सदस्यको भनाइ छ ।
“जेठ १४ गते राति एउटा गाडि अर्थ मन्त्रालयमा आएर २/३ घन्टा रोकिएर गएको देखिएको छ,” समितिका एक सदस्यले भने, “यो गाडी कसको हो, के प्रयोजनाले आएको भन्ने कुरा बुधबार विस्तृतरुपमा बुझिन्छ ।”
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको हो वा होइन भन्ने विषय प्रमाणित गर्नका लागि ‘शंकास्पद गाडी’ प्रवेश गरेको फुटेज अन्तिम क्लु भएको ती सदस्यको भनाइ छ ।
समितिको मंगलबा दुईपटक बसेको बैठमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) को अर्थ मन्त्रालयको सिसिटिभी फुटेजका सन्दर्भमा छलफल भएको थियो । मंगलबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सिसिटिभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो ।
रिपोर्ट स्पष्ट नबुझिएपछि अपरान्हको बैठमा विज्ञहरुसँग छलफल गरिएको थियो । तर, विज्ञसँग छलफल गर्दा पनि फुटेजका धेरै क्लिपहरु ‘स्पष्टसँग’ बुझ्न नसकिएको समितिका सदस्यहरुले जानकारी दिएका छन् ।
संसदीय छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले अब प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय भएको जानकारी दिए ।
समितिले सिंहदरबार प्रवेशद्वारको पनि सिसिटिभी फुटेज मागेको थियो । तर, गृह मन्त्रालयले मागिएको मितिको फुटेज उपलब्ध हुन नसकेको जबाफ पठाएको छ । छानबिन समितिले सिंहदरबारको दुवै तर्फको गेटको सिसिटिभी फुटेज माग गरेको थियो ।
सत्तपक्षले प्रमाण लुकायो– एमालेतर्फका समिति सदस्य
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार बसेको विशेष समितिको बैठकपछि ती सदस्यले सत्तापक्ष कांग्रेस, माओवादी केन्द्रका समिति सदस्यहरुले प्रमाण लुकाएको आरोप लगाएका हुन् । ती सदस्यले भने, “सत्तापक्षले प्रमाण लुकायो, समितिले तथ्य पत्ता नलगाइ प्रतिवेदन दिने भएको छ ।”
प्रतिवेदन सहमतिमै तयार गर्ने समझदारी
मंगलबार अपरान्ह बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले अब प्रतिवेदन लेखनमा केन्द्रित हुनुपर्ने बताएका छन् । विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सिसिटिभीको रिकभर रिपोर्टलगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ ।
प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ । यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन् ।
अर्यालका अनुसार समितिको बैठक बुधबार ११ बजे बस्ने छ । बुधबार बस्ने बैठकमा सिसिटिभीको रिकभर फुटेजमा देखिएको शंकास्पद गाडीको विषयमा विस्तृत बुझेर निष्कर्ष निकालिने र त्यसपछि सबै विषयलाई समेटेर प्रतिवेदन लेखनको खाका तयार गरिने छ ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । उक्त काण्ड छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लगि थपिएको छ । समितिको पहिलोपटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो । समितिले अब म्याद थप गर्नका लागि आग्रह नगरी दोस्रो पटक थपिएको समयमै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिक्रिया