पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

काठमाडौं, १० साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । 

समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ । 

‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’  

नेपाल प्रहरीको फरेनसिक ल्यबाबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । 

सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो । 

‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने । 

आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए । 

केही दिनअिघ समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो । 

‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं,’ अर्याले भने । 

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति