वामदेव गौतमको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । वामदेव गौतमको संयोजकत्वमा घोषणा भएको नेकपा ‘एकता राष्ट्रिय अभियान’ दल निर्वाचन आयोगमा दर्ता भएको छ । गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिरहेको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए । उनीहरुले आयोगमा पुगेर सनाखत गरेको पाण्डेले बताए । दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिन्ह ‘धानको बाला’ राखिएको छ । चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको उनले बताए ।

सुरुमा गुलाबको रुख चुनाव चिन्ह मागेर आयोगमा दल दर्ता गराइएको थियो । उक्त चिन्ह अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो ।

दल दर्ता गरेर अघि बढेका गौतम पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा होमिएका छन् । उनले पार्टी घोषणा गरेलगत्तै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेटघाट बाक्लो बनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति