काठमाडौँ । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक बस्दै छ । मंगलबार बिहान ८ बजेका लागि तय भएको बैठकमा नेपाल प्रहरीको परेन्सिक ल्यबले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा १४ जेठ राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सो विषयमा संसदीय विशेष छानबिन समितिमा छलफल जारी छ ।
शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज माग गरेको थियो । सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जबाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।
असम्बन्धित व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको भन्दै संसद्ले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । सुरुमा समितिलाई १० दिनको समय दिइएको थियो ।
निर्धारित समयमा समितिले अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, विभिन्न विभागका महानिर्देशकलगायतसँग छलफल गरेको थियो । तर, उनीहरुसँगको बयानबाट पनि तत्कालीन अर्थमन्त्री शर्माले कुनै गलत नगरेको पुष्टि भएपछि समितिले सिसिटिभी फुटेज हेरेको थियो ।
फुटेजमा पनि यथार्य विवरण प्राप्त नभएको भन्दै समितिले डिलिट भएको सिसिटिभी फुटेजलाई फरेन्सिक ल्याबमा पठाएर रिकभर गराउन खोजेको हो ।
मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ । आइतबार बसेको समिति बैठकले पूर्व र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो ।
समितिलाई पहिलोपटक अनुसन्धानका लागि १० दिनको समय दिइएको थियो । त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो । थपिएको सात दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ ।
प्रतिक्रिया