काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका डा.बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने टुंगो लागेको छ । हिसिला यमीले पार्टीको नाम टुंगो लागेको बताइन् ।
‘पार्टीको नाम टुंगो लागिसकेको छ, निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ ।’ उनले पार्टीको विधानलाई अन्तिम रुप दिने काम भइरहेको जनाइन् ।
अध्यक्षबारे अझै टुंगो नलागेको यमीले जनाइन् । जसपालाई पुनर्गठन गरी नयाँ समावेशी पार्टी बनाउने उद्देश्यसहित भट्टराई पक्ष अलग भएको थियो ।
आगामी निर्वाचनमा ‘समाजवादी केन्द्र’ बनाउने भन्दै भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेतासँग छलफल गरिरहेका छन् ।
प्रतिक्रिया