७२ वर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय

  • सीपी लोहिया

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ वर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टिङ गरिरहेकी भेटिन्छिन् ।

भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् । उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उनले बताइन् । उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् ।

माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् ।

भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौँसम्मका सार्वजनिकस्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए । उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौँसम्मका भित्ताहरू फोटोले रंग्याउनुभएको छ । उहाँले कोर्न खाजेको चित्र एकपटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरुस्कृत समेत हुनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौँस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् । उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्वइच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ ।

गाउँठाउँका कसैले पेन्टिङका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् । आफूसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board