काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् ।
शनिबार सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकता समस्याको समाधान गर्ने यसअघिको प्रतिबद्धता पूरा भएको बताए ।
‘तराई–मधेसको नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेको थिए । त्यसको समाधान, हिजोदेखि नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्यौँ,’ उनले भने ।
शुक्रबार प्रतिनिधिसभामा सरकारले पेस गरेको नागरिकता विधेयक बहुमतले पारित गरेको थियो । लामो समयदेखि विवादित बनेको उक्त विधेयक शुक्रबार पारित भएको हो । उनले मधेसका जनताको मुख्य समस्यका रुपमा रहेको नागरिकताको समस्या अब समाधान भइसकेको दाबी गरे ।
‘६ लाख बढी युवा नागरिकताविहीन बनेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हमपट्टी लगाउने काम गरेको छ,’ उनले भने ।
प्रचण्डले अहिले पनि मुलुकमा संघीयता र गणतन्त्र असफल पार्ने षड्यन्त्र भइरहेको बताए । उनले कसले त्यस्तो गरिरहेको हो भन्ने उल्लेख नगरे पनि त्यसलाई असफल बनाउन माओवादी पार्टीले संघर्ष गर्ने बताए ।
साथै उनले दिल्लीमा कांग्रेस नेतृ आरजु देउवा र आफूबीच कुनै प्रकारको सम्झौता नभएको दाबी गर्दै षड्यन्त्रकारीले भ्रमपूर्ण हल्ला फैलाएको बताए ।
प्रतिक्रिया