अमेरिकासँग अनुदानमा दुई हेलिकोप्टर माग्दै नेपाली सेना

काठमाडौं । अमेरिकासँग नेपाली सेनाले अनुदानमा दुई वटा हेलिकोप्टर माग्न सरकारसँग कुटनीतिक पहल गरिदिन अनुरोध गरेको छ ।

सेनासँग रहेको चार हेलिकोप्टरमध्ये दुई वटा ग्राउण्डेड भएको र दुई वटा मात्रै चलिरहेको भन्दै सेनाले असार अन्तिम साता रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसैले पनि अमेरिकासँग अनुदानमा माग गर्ने विषयमा पहल गरिदिन सेनाले पत्राचार गरेका हुन् ।

सेनाको पत्रअनुसार रक्षाले परराष्ट्र मन्त्रालयलाई अमेरिकासँग अनुदानमा हेलिकोप्टर माग्न आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।

अमेरिकी अनुदान सहायतामा हेलिकोप्टर ल्याउनु पर्ने भएकाले परराष्ट्रले अर्थ मन्त्रालयसँग सहमतिका लागि लेखेअनुसार केही दिनअघि अर्थले सहमति दिइसकेको छ ।

जानकार स्रोतका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले अनुदानमा हेलिकोप्टर उपलब्ध गराइदिन अमेरिकी पक्षलाई आग्रह गरेका थिए। गत महिना सम्पन्न अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति शर्माले रक्षा मन्त्रालय पेन्टागन तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भएको भेटमा हेलिकोप्टर अनुदानस्वरुप उपलब्ध गराइदिन आग्रह गरेको सैनिकसम्बद्ध स्रोतले बतायो।

रक्षा मन्त्रालयका अधिकारीहरुले अमेरिकी सेनाका तर्फबाट अनुदानमा हेलिकोप्टर पाउने ‘ग्रिन सिग्नल’ नेपाली सेनाले पाइसकेको अनुमान गरे।

‘अमेरिकाले सकारात्मक जवाफ दिइसकेकै कारण आवश्यक सरकारी प्रक्रिया पुर्याउन सेनाले अहिले पत्र लेखेको हुनसक्छ,’ ती अधिकारीले भने।

मुलुकमा आर्थिक संकट रहेकाले अमेरिका वा अन्य मुलुकबाट हेलिकोप्टर किन्ने अवस्था नरहेको नेपाली सेनाले निक्र्यौल निकालेको थियो। सायद त्यसकारण नेपाली सेनाले अमेरिकाबाट दुई वटा हेलिकोप्टर अनुदानमा माग्न लागेको हो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले चाहिँ आधिकारिक रुपमा आफूलाई यसबारे केही जानकारी नरहेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति