काठमाडौँ । संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ ।
तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि शर्मालाई बोलाउने भएको हो ।
समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज हराएको प्रमाणबारे पनि छानबिन गरिरहेको छ । आज समितिले शर्मासँग सिसिटिभी हराएको बारे पनि प्रश्न गर्ने छ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करको दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
आज समिति गठन भएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया