महोत्तरीको टुटेश्वर मन्दिरमा महाकुम्भ मेला सुरु, २० लाख दर्शनार्थी आउने अनुमान

महोत्तरी, ४ साउन । महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ ।

अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्रायस् सुनसान देखिएका थिए । तर, धार्मिक पर्यटकीय स्थलहरू पुरानो लयमा फर्किएसँगै देवालयहरू भरिभराउ देखिन थालेका छन् । यसै कारण पनि यो एक महिनामा २० देखि २५ लाख स्वदेशी तथा विदेशी धार्मिक आस्था बोक्ने भक्तजनहरू दर्शनको लागि आउने संरक्षण समितिका अध्यक्ष हरि महतले जानकारी दिए ।

साउनको हरेक सोमबार यस मन्दिरमा दर्शन गरे बाँझोपनको समस्याबाट मुक्त बन्ने, पापकर्महरू नाश हुने धार्मिक विश्वास रहँदै आएको छ । बर्दिबास-५ मा रहेको यस मन्दिरलाई अहिले बेहुलीजसरी सिंगारिएको छ । १५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् भने मनोरञ्जनका लागि विद्युतीय पिङ र विभिन्न खेलहरू खेल्न सकिन्छ ।

लामो लाइन बसेर टुटेश्वर महादेवको दर्शन गर्नुपर्ने हुँदा प्रचण्ड गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै स्वास्थ्य सहायता कक्ष, सहायता कक्ष जस्ता सहयोगी कक्षहरूको स्थपना गरिएको छ ।

मन्दिर वरपर व्यापा गर्नेहरूको भिड पनि उत्तिकै छ । बारा, पर्सा, सप्तरीसहित भारतबाट यहाँ आएर विभिन्न व्यापार गर्नेहरूको आवागमनसमेत बढिरहेको छ । बाहिरबाट आउने श्रदालु भक्तजनहरूलाई आकर्षित गर्न मन्दिर परिसर लगायत वरपर सरसफाइमा विशेष ध्यान दिइएको छ ।

मन्दिर संरक्षण समितीले सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ भने सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयहरूमा चुस्त रहन सुरक्षाकर्मीहरूले विशेष सतर्कता समेत अपनाएका छन् ।

नेपाल प्रहरी तथा ट्राफिक प्रहरी सरसफाइमा आफैँ खटिएका छन् । प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख रवि रावलको नेतृत्वमा र जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदयसिंह सिजापतिले सुरक्षा र ट्राफिकका समस्याहरुमा सहजीकरण गरिरहेका छन् ।

पूर्व-पश्चिम राजमार्गमा कुनै ट्राफिक जाम नहोस् भन्ने उद्देश्यले मुख्य सडकमा समेत यदि त्यस्तो अवस्था आए तयारी रहन ट्राफिक प्रहरीसमेत परिचालन गरिएको प्रमुख सिजापतिले जानकारी दिए ।

नेपाल प्रहरीले पनि भिडभाड तथा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

सबैभन्दा बढी मन्दिर भएको यस पालिकाले धार्मिक पर्यटक वृद्धिमा ध्यान पुर्‍याए आम्दानीको गतिलो स्रोत मन्दिर पनि हो । तर, स्थानीय सरकारको ध्यान खासै केन्द्रित हुन नसक्दा धार्मिक महत्वका तिर्थस्थलहरू अस्तव्यस्त छन् ।

आन्तरिक र बाह्य धार्मिक पर्यटकहरूको बर्दिबास प्रमुख आस्थाको केन्द्र भए पनि उचित संवर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board