चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने

मस्को । सन् २०२४ मा चीन र रुसबीचको ग्याँस पाइपलाइन निर्माण कार्य सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइन मंगोलियाको भूभाग हुँदै चीनमा ग्याँस आपूर्ति गर्ने छ ।

यसैबीच सोमबार युरोपेली संघ (ईयू)ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्याँस पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा गरिसक्ने लक्ष्य लिइएको छ । यी दुई गठबन्धन मुलुकबीच आर्थिक र ऊर्जा सम्बन्ध गहिरिँदै गइरहेको छ ।

मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेने लुभासान्नाम्सराइले फाइनान्सियल टाइम्सलाई बताएका छन्, “युक्रेनमा भइरहेको रुसी फौजको आक्रमणका कारण पावर अफ साइबेरिया पाइपलाइनको योजनामा केही कठिनाइ आइरहे पनि यसको निर्माण कार्य २०२४ मै सुरु गरिनुपर्छ ।”

२ हजार ६०० किलोमिटर लामो यो पाइपलाइनले सन् २०२० मा सेवा आरम्भ गर्ने आशा गरिएको छ । यस पाइपलाइनमार्फत् पारवाहन शुल्क र कर पाइने हुँदा कोरोना महामारीको कारण नाजुक अवस्थामा पुगेको मंगोलियाको अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुग्ने भएको छ ।

रुसबाट चीनमा ग्याँस निर्यात गराउनेबारे सन् २०१९ देखि नै प्रसंग उठेको थियो । तर, युरोपले आफ्नो ग्याँसमाथिको निर्भरता कम गर्न थालेपछि अहिले रुस यस विषयमा तातिएको हो ।

ईयूले आगामी २०२७ मा अजरवैजनबाट कम्तीमा २० अर्ब क्युविक मिटर प्राकृतिक ग्याँस आयात गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो ।

बिजनेस इनसाइडरबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति