पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलाउनेः संसदीय छानबिन समिति

काठमाडौँ, ३ श्रावण । बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरे पनि समय भने तोकेको छैन ।

‘भोली (बुधबार) समय भयो भने पूर्वअर्थमन्त्री शर्मासँग बयान लिनेछौं,’ समितिका एक सदस्यले भने, ‘नभएमा बिहीबार शर्मासँग बयान हुनेछ ।’

समितिको बैठकले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकारसहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको ती सदस्यले बताएका छन् ।

त्यसैगरी, सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको छ । बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो । असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति