काठमाडौँ । नेपाल र चीनबीच कोरोला, किमाथांका र ओलाङ्चुङगोलालगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको छ । नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको दशौँ बैठकमा उक्त सहमति भएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बततर्फका सीमा क्षेत्रमा धमाधम पक्की सडकलगायत भौतिक पूर्वाधार निर्माण भए पनि नेपालतर्फको सीमामा आशातीत पूर्वाधार निर्माणको अवस्था कमजोर छ । नेपाल र चीनका अधिकारीबीच सोमबार ९ घन्टा भर्चुअल माध्यमबाट बैठक भएको हो । बैठकमा सीमामा पूर्वाधार निर्माणबारे विशेष छलफल भएको सहभागी अधिकारीले जानकारी दिए ।
बैठकमा नेपाली पक्षको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव नारायण रेग्मीले कोरोला, किमाथांका र ओलाङ्चुङगोलालगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको बताए । उक्त बैठकमा चिनियाँ पक्षको नेतृत्व तिब्बत सरकारका उपमहासचिव रेन सिनपिङले गरेका थिए ।
बैठकमा चीन सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माण भइरहेको सुख्खा बन्दरगाह यथाशीघ्र सम्पन्न गर्ने सहमति भएको उनले बताए ।
नेपाल–चीनको तिब्बतबीच द्विपक्षीय व्यापार सहजीकरण गर्ने उद्देश्यले सन् २०१० अप्रिलमा एक समझदारी पत्रमा हस्ताक्षर भइ नेपाल–तिब्बत व्यापार सहजीकरण समिति स्थापना भएको थियो । सो सम्झौतामा भएको व्यवस्थाअनुसार उक्त समितिको दशौँ बैठक आयोजना भएको हो ।
छलफलमा दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवाहन सुविधाका साथै भन्सार प्रक्रियामा सरलीकरणलगायतका विषयमा छलफल भएको थियो ।
वार्तामा नेपाल–चीनबीच निर्वाध रुपमा दुईतर्फी व्यापार गर्न उपयुक्त विधि अवलम्बन गर्ने विषयमा समेत छलफल भएको वाणिज्य मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकालाई दुईतर्फी सञ्चालन गर्ने सहमति गतसाता भएको थियो ।
त्यसैगरी, उक्त बैठकमा पारवाहन सम्झौताको प्रोटोकल कार्यान्वयन, अन्तरदेशीय विशेष आर्थिक क्षेत्र स्थापना, आधिकारिक आर्थिक सञ्चालक (एइओ)को व्यवस्था, भुक्तानी सहजीकरण, बहुकार्यात्मक प्रयोगशाला स्थापनालगायत विषयमा समेत गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया