काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको पुन दोहराएका छन् । हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको एक कार्यक्रममा नेता श्रेष्ठले वाम एकता गर्नु पर्ने धारणा सार्वजनिक गरेका थिए ।
आज सामाजिक सन्जालमा श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ ।’
बेलैमा बुद्धि नपुर्याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । । श्रेष्टले लेखेका छन्, ‘बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि १ समयमै सोचौं ।’
हिजो राजधानीमा आयोजित एक कार्यक्रममा पनि उनले वामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिएका थिए । सोही कार्यक्रममा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र वामपन्थी भएको खालको धारणा राखेका थिए । ओलीको उक्त अभिव्यक्तिको पनि श्रेष्ठले आलोचना गरेका छन् । श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘ क. ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधि सभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’

प्रतिक्रिया