ओलीको प्रश्न : चीनतर्फ बाटो खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नुपरेको होइन र ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू २०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको बताएका छन् ।

नेपाल–चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘चीनतिरबाट नाका खोलेवापत मैले पहिलोपटक प्रधानमन्त्रीबाट हट्न परेको होइन र ?’ अ‍ोलीले प्रश्न गर्दै भने, ‘चीनबाट फर्केलगत्तै हटाउन क्याम्पियन चलेको होइन र ?’

२०२६ सालमा उत्तरतिरका १७ ओटा चेकपोस्ट हटाएवापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेवापत र चुच्चे नक्सा छापेवापत आफू दुवैपटक सत्ताच्युत भएको दाबी गरे ।

ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्थामा आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँगै सौदाबाजी गरेको ओलीले आरोप लगाए ।

उनले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरका नाका खोलेवापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ ओटा चेकपोष्ट हटाएवापत कीर्तिनिधिले छाड्नुपरेको थियो । उत्तरतिर नाका खोलेवापत, चुच्चे नक्सा छापेवापत मैले सत्ताबाट हट्नुपरेको हो ।’

ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुुने गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति