कांग्रेसको पुच्छर समाउन छाडेर आएमात्र वाम गठबन्धन हुन्छ : ओली

काठमाडौं ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँच्चिकै पार्टी एकता वा वाम तालमेल चाहेको भए नेपाली कांग्रेसको पुच्छर समाउन छाडेर आउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव गरेपछि जबाफमा ओलीले पहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार छाड्नु पर्ने बताएका छन् ।

शनिवार नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले एकताको प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले माओवादी केन्द्र वामपन्थी पार्टी नभएको समेत आरोप लगाए ।
अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धनमा रहेसम्म माओवादी केन्द्रलाई वामपन्थी दल भन्न नमिल्ने बताएका छन् । ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थी ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो ल छाडि दिऊँ,’ उनीले भने, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानूनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौँ ।’‘यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु,’ उनले भने, ‘चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?’

उनले माओवादी केन्द्रले आफू नेतृत्वको सरकार ढाल्न हदैसम्मको प्रयास गरेको स्मरण गरे । ‘कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउन अदालतमा मुद्दा हाल्न गएको होइन वामपन्थी ? ,’ ओलीले थप प्रश्न गरे, ‘कम्युनिष्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउन संसदबाट सकेनौँ त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन ? यस्तोलाई कसरी वामपन्थी भन्ने ओलीको आक्रोश थियो ।
सोही कार्यक्रमा नेता श्रेष्ठले भने एमालेको आलोचना नगरीकन नरम भाषा प्रयोग गर्दै गठवन्धनका लागि अपिल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति