‘रुटिन अफ नेपाल बन्द’लाई महानगरको एक करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको छ ।

नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको अनिल अधिकारी (यमबुद्ध)को सालिकका लागि पनि महानगरकै १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने रुटिन अफ नेपाल बन्दका सञ्चालकले सुरु गरेको ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ । नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपैयाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यकालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर बालेनले अनलाइन खेलको नाममा १ करोड रुपैयाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र सहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ ।

१०८ पेज लामो पुस्तिकामा मेयर साहले नगरपरिषद् सदस्यलाई दबाब र प्रभावमा पारी आफूलाई निर्वाचनमा सहयोग गर्ने संस्थालाई विनियोजन गरेको महानगरका पुराना कर्मचारीहरुको गुनासो छ ।

उक्त ई–स्पोर्ट्स नेपालमा भर्खरभर्खर चर्चामा आएको विषय हो भने अझ धेरै अभिावकहरु छोराछोरी ई–स्पोर्ट्सका कारण बिग्रिएको भनेर हैरानी जनाइरहेका छन् । आम अभिभावकहरु छोराछोरी मोबाइल गेमका कारण बिग्रिएको र कतिपय बालबालिकामा समस्या देखिएको अवस्थामा महानगरपालिकाले नै यसरी रकम लगानी गर्ने विषयमा अरु जनप्रतिनिधिहरु भने असन्तुष्ट रहेका छन् ।

उनीहरुले अन्य खेल संघहरुलाई गर्ने सहयोग र ई–स्पोर्ट्सलाई गर्ने सहयोग समान १ करोड भएकोमा पनि असन्तुष्टि जनाएका छन् । ई–स्पोर्ट्स राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता पनि भएको छैन ।

त्यसैगरी, र्‍यापर यमबुद्धको शालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट पुस्तिकाको ८६६औँ नम्बर बुँदामा विनियोजन भएको प्रमाण छ ।

उक्त रकम पनि सामाजिक विकास विभागअन्तर्गत रहेको छ । महानगरको बजेटबाट सालिक निर्माण गर्ने उल्लेख भएपछि मेयर बालेनको चर्को विरोध भएको थियो । त्यसलगत्तै उनले आफ्नै खर्चमा सालिक बनाउने उद्घोष गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board