श्रीलंकाबारे अमेरिकाले भन्यो– शान्तिपूर्ण शक्ति हस्तान्तरण गर

काठमाडौँ । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् ।

अमेरिकाले सबै हिंसाको निन्दा गर्ने र संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी छन् । ‘हामी सबै हिंसाको निन्दा गर्छौँ र कानुनको शासन कायम गर्न आह्वान गर्दछौँ,’ उनले एक ट्वीट सन्देशमा भनेकी छन् । उनले श्रीलंकाको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औँल्याएकी छन् ।

जुली चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गरेकी छन् । ‘हामी सबै पक्षहरूलाई राष्ट्रको उन्नतिका लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधानहरू कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौँ,’ उनले ट्वीटमा भनेकी छन् ।

यसैबीच, टापु देशको आर्थिक पतनका कारण सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर यात्राको प्रतिक्षामा छन् ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति छन् । उनले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board