कमल थापा भन्छन्– ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ

गोरखा । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन् । तर, हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ,’ उनले भने ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यमा सम्भावना देखेको उनले तर्क गरे ।

‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सिके राउत र विप्लप माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दा खेरी हामी तुलनात्मक रुपमा नेकपा एमालेसँग नजिक भएको महसुस गर्छौँ’, उनले भने ।

राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउने अभियानमा आफूहरू लागेको उनले बताए । ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन बिस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउँछौँ,’ उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board