स्कटल्यान्डमाथि नेपालकाे ऐतिहासिक जित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसीय र टी–२० दुवैमा नेपालले स्कटल्यान्डलाई हराउने सकेको थिएन ।

१४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर आशिफ शेखले अर्धशतकीय योगदान गरे । ६२ बलको सामना गरेका शेखले १ छक्का र १० चौकाको मद्धतमा ७१ रनको पारी खेले ।

पहिलो विकेटका लागि शेखसँग ४७ रनको साझेदारी गरेका कुशल भुर्तेलले २७ रन बनाए । यस्तै, उपकप्तान रोहितकुमार पौडेलले अविजित ३४ रनको योगदान गरे । उनले ३१ बलमा ५ चौकाको मद्धतमा ३४ रन जोडे ।

देव खनालले ४ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी ३ तथा आरिफ शेख १ रनमा आउट भए ।

यसअघि स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

स्कटल्यान्डका गाभिन मेनले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ तथा कलुम म्याकलोडले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र आदिल आलमले समान ३–३ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । १८ खेलमा ८ मा जित निकाल्दा एक खेल टाइ र ९ खेलमा पराजयसहित १७ अंक जोडेको छ । स्कटल्यान्ड ३० अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्यान्डले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । यसअघि स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board