नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीचको भेटमा के भयो कुराकानी ?

काठमाडौँ । नेपाली कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेको छ । चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका जियानचाओसँग भेटघाट कार्यक्रममा कांग्रेसले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामबारे छलफल गरेको कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जाफमार्फत् जानकारी दिएका छन् ।

उनका अनुसार कांग्रेस र सिपिसीका विदेश विभाग प्रमुख जियानचाओसँग निम्न विषयहरुमा चर्चा गरिएको हो ।

१. नेपाली कांग्रेस, नेपाल–चीनबीचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल–चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याउनुभएको योगदानप्रति गौरव र स्मरण गर्दछ।

२. नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ । नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रष्ट, संवेदनशील र सचेत छ ।

३. नेपाल कांग्रेस चीनलगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ । साथै, शक्ति राष्ट्रहरूबीच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस भन्ने अपेक्षा पनि गर्दछ । तर, शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।

४. नेपाली कांग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तरलाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्दछ । नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहयता लिनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ ।

५. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ । यस सन्दर्भमा चीन सरकारले अघि सारेको The Belt and Road Initiative (BRI) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।

५. नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पूरानो, र परिपक्व राजनीतिक शक्ति हो । अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन । नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ । नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिने छ ।

साथै निकट्तम् छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाइ नेपाली कांग्रेसको हो ।

६.चीनको,नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैँ समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्दछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board