देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपाक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।

रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजापाक्षे देश छाडेको खबर सम्प्रेषण गरेको छ ।

द गार्जियनका अनुसार उनले मंगलबार कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ–३२ मार्फत् देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित ४ चात्रु रहेका छन् ।

कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्ले गरे पनि यसको पुष्टि हुन नसकेको द गार्जियनले लेखेको छ । माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घन्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

यसअघि सोमबार राति उनले दुबइ भाग्ने असफल प्रयास गरेका थिए । सोमबार राति अध्यागमनका अधिकारीहरुले उनलाई राहदानीमा छाप लगाउन विमानस्थलको भिआइपी कक्षमा जानबाट रोकेका थिए । नागरिकहरुले प्रयोग गर्ने सामान्य लाइनमा बस्न उनी डराएका थिए । नतिजास्वरुप उनले युएइका ४ उडानहरु गुमाएका थिए ।

विमानस्थलबाट फर्किएका राजापाक्षेले श्रीमती र एक दर्जन परिवारका अन्य सदस्यसहित सैन्य शिविरमा रात विताएका थिए ।

यसअघि पनि देश छाड्न प्रयास गरेका उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूतावासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board