‘डायलायसीस र मृगौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्‍यो’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए । प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसीस गर्न र मृगौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेपनि सजिलैसँग केन्द्रबाट डायलायसीस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ । यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । बरु के गर्नुपर्छ मैले मेरोतर्फबाट पहल गर्छु । बिरामीलाई दुःख नदिनुहोस् ।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए । उनले अहिलेपनि शय्या नपाएर बिरामी मर्कामा पर्ने गरेको बताए । केसीले भने, ‘के गर्नुपर्छ मैले सहजीकरण गर्छु ।’

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुद रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए ।

‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौँ । खट्ने मान्छे बिहानैदेखि बेलुकीसम्म खट्नुहुन्छ । कुनै चाहिँ नखट्ने आउँछ । त्यसलाई सुधार गरेर आफूलाई म म गर्नुपर्छ । कम्तीमा यस अस्पतालमा ५ सय शय्या आवश्यक देख्छु । त्यति भयो भने १५÷२० वर्ष देख्छौँ,’ उनले भने । अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए । अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए ।

सो अवसरमा कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । राज्यमन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए । अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.सर्वेश शर्मालगायतको सहभागिता रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board