सबइञ्जिनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप

बैतडी । डिभिजन वन कार्यालय बैतडीका सबइञ्जिनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए ।

उनले भने, ‘मन्दिरको भएको र देउताको कसम खाँदै एक रुपैयाँ पनि हिनामिना नगर्ने सोचले काम गरेका हौँ । सोही अनुसार स्टिमेटमा भएका सबै काम पूरा गरेका छौँ । काम सम्पन्न भए पश्चात् डिभिजन प्रमुख र प्राविधिक आएर जाँच गर्दा ९ लाख ७० हजारको काम भएको भन्दै सोही अनुसारको कागजात तयार गर्नुभयो । भुक्तानीका लागि आउनु भनियो र डिभिजन वन कार्यालयमा जाँदा हामीलाई प्राविधिकले विभिन्न बाहानमा ३ दिन अलमल्याए । अन्ततः एक लाख रकम दिए मात्रै भुक्तानी गर्ने बताएपछि ८० हजारको चेक र ५ हजार नगद दिएर घर फर्कियौँ । मैले चेक दिए पनि त्यस खातामा पैसा छैन भने ।’

सम्झौताका बखत पहिलो किस्ता ३ लाख २० हजार र अन्तिममा ४ लाख ५२ हजार ८८० रुपैयाँ गरी ७ लाख ७२ हजार ८८० रुपैयाँ मात्रै खातामा प्राप्त भएको बताए ।

उपभोक्ता समिति अध्यक्ष पन्तले भने, ‘घुस माग्ने प्राविधिकले आफूलाई दिएको ८० हजारको चेक नसाटिएमा पूरा भुक्तानी नगर्ने चेतावनी दिएका थिए । सोही अनुसार झन्डै २ लाख रकम कम दिएकै छाडे ।’

स्टमेट अनुसार काम नभएका योजनामा रकम घट्न सक्ने डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले बताए । डिलाशैनीसहित केही आयोजनामा कम रकम भुक्तानी भएको उनको भनाइ छ । उनले भने, ‘फिल्डमा गएको बेला भीडमा बढी मूल्यांकन गरिए पनि पछि फोटो हेर्दा कम काम भएको पाइयो । त्यसैले रकम घटेको हो,’ उनले भने ।

कर्मचारीले घुस मागेको विषय प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board