प्रदर्शनकारीहरुले के–के गरे श्रीलंकाको राष्ट्रपति निवासमा ?

काठमाडौँ । आर्थिक संकटमा फसेको श्रीलंकामा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति निवासभित्र छिरेका छन् । महिनौँदेखि राष्ट्रपति गोटवाया राजापाक्षे सरकारविरुद्ध आन्दोलन गरिरेहेका प्रदर्शनकारीहरु शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन् । हजारौँको संख्यामा प्रदर्शनकारीहरुले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए । उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन ।

प्रदर्शनकारीहरु भने आइतबार पनि राष्ट्रपति निवासमा पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुमध्ये केहीले आइतबार दिउँसोका खाना पनि त्यहीँ खाएका छन् ।

चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरुले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरु त्यहाँभित्रको सुविधा उपभोग गरिरहेका देखिन्छ भने अर्कातिर उनीहरुले हास्यास्पद क्रियाकलाप पनि गरेका छन् । जसका रोचक तस्बिर तथा भिडिओहरु बाहिर आएका छन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति निवासमा प्रवेश गरेको केहीबेरमै केही तस्बिर बाहिरिए । जसमा उनीहरु स्विमिङ पुलमा पौडी खेलिरहेका देख्न सकिन्छ । प्रदर्शनकारीहरुले राष्ट्रपति भवनभित्रको भान्सामा पनि प्रवेश गरे । आफैँले खाजा पकाएर खाए । केहीले जिम पनि गरे । कतिपयले बाथरुममा गएर नुहाए पनि ।

केही प्रदर्शनकारीहरु भने लम्पसार सुतेर टेलिभिजनमा समाचार हेरिरहेको भिडिओ र तस्बिर पनि सार्वजनिक भएका छन् । यस्तै, राष्ट्रपति भवनमा भएका बेडमा सुत्नेदेखि रेस्लिङसमेत खेलेको पनि देखिएको छ । प्रदर्शनकारीहरुले बंकरमा प्रवेश गर्ने सिक्रेट ढोकासमेत पत्ता लगाएर भित्र प्रवेश गर्न भ्याएा छन् ।

यस्तै, उनीहरुले पियानो बजाएर नाचगान गरिरहेको समेत देखिन्छ । भवनभित्र एक जना गोरा मानिसलाई लिएर इन्टरनेशनल मनिटरी फन्ट (आइएमएफ)सँग श्रीलंका सरकारले गरिरहेको वार्ताको नक्कल गरिएको छ ।

श्रीलंकाली राष्ट्रपति राजापाक्षे आउने बुधबार राजीनामा दिन सहमत भएका छन् । उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board