देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास बिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन् । सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक संघको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए ।

मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गरे । विकास बिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उनले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गरे । वराह क्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युतलगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिए ।

भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वेमार्गलाई सडकमार्गको रूपमा स्तरोउन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताए।

सोही कार्यक्रममा सप्तकोसी क्याम्पसको प्राध्यापक संघ एकाइ समितिमा निर्वाचित सभापति केशव पुरी, उपसभापतिमा उमेश खड्कासहितका पदाधिकारीलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गरे । उनको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बससमेत उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, कोसी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीलगायतको सहभागिता थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति