काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भइ टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।
पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पुर्याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्युरोले जनाएको छ ।
यसैगरी, भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी प्रलोभनमा पारेर काठमाडौँ विमानस्थलबाट दुबई भनी कुवेतको घर मालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रवक्ता मल्लले बताए । पक्राउ तीनैजनालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कारागार पठाइएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया