काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ ।आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसद्मा राजीनामा घोषणा गरेका छन् ।
उनीमाथि छानबिन गर्न संसद्ले ११ सदस्यीय विशेष समिति बनाएको छ । उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ ।
संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ ।
‘अहिले छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुभएको हो । राम्रो करा हो छानबिन हुन्छ । उहाँ निर्दोष छु भन्नुभएको छ । उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे हामी पठाउँदैनौँ,’ उनले भने ।
यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरुले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपाली प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढंगले प्रचार गरेकोमा नेता पुनले आपत्ति जनाए । उनले छानबिनअघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा समेत आपत्ति जनाए ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको घोषणा गरेका छन् । संसदीय छानबिन समितिमा एमालेबाट ४, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एक/एक सदस्य रहेका छन् ।
प्रतिक्रिया