सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको होः गृहमन्त्री

काठमाडौं, २१ असार । गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् ।

बैठकमा गृहमन्त्री खाणले भने, ‘राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो । जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो । नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुपर्‍यो । अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ ।’

खाणले देशकाे सुरक्षाका बारेमा भने, ‘यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियोे । त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुपर्‍यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो । बाटोमा एउटा पनि कालोझन्डा देखायो भने संसारभर सूचना त्यही बन्छ, फलानो देशको राष्ट्र प्रमुख गयो र कालोझण्डा देखाइयो । सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board