पाँच वर्षपछि रारा तालमा बिजुली

कर्णाली । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्‌गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जलविद्युत्‌गृहबाट उत्पादित विद्युत् २४सैँ घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरहरुले विद्युत् आपूर्ति पाएका छन् ।

रारा ताल परिसरमा २५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयवासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्‍याउन सफल भएका छौँ,’ यादवले भने ।

यस्तै, डोल्पामा बिजुली पुर्‍याउनका लागि समेत नियमितरूपमा प्रसारण लाइन निर्माणको काम अगाडि बढेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board