काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । एकजना सुरक्षाकर्मीको मृत्यु भएको उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
सोमबार दूतावासभित्र गोली चलेपछि प्रहरी घटनास्थल पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले दूतावासभित्र प्रहरी सिधै जान नसक्ने भन्दै आवश्यक समन्वय भइरहेको बताए ।
भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेको स्रोतले बताएको छ ।
दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।
घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
प्रतिक्रिया