हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो । ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले सार्वजनिक गरेका छन् ।

हलेसी गढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए । पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा लेखिएको छ । कार्यदलले दिएको जिम्मेवारी अनुसार मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसी गढी’को दस्ताबेजीकरण गरेका हुन् । भिडियो वृत्तचित्र भने पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

हलेसी गढीमा करिब चार सय वर्ष पहिले किरात राजा होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए । हलेसीथुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट ठाउँको नाम नै हलेसी रहन गएको इतिहास छ । किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा विक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको अध्यता चामलिङ बताउँछन् ।

हलेसी गढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘ऐतिहासिक हलेसी गढीको इतिहास, कथा–कहानी हाम्रा पुर्खाले भन्दै गए, सन्ततिले सुन्दै आए । स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत हुँदै गएका छन् । गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेका छन्,’ कार्यदलका संयोजक राईले भने, ‘गढीको अस्तित्व जोगाएर यसैबाट आत्मकसम्मान र आयश्रोत प्राप्ति गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारीबोध गरिएको हो । यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पूर्वअध्यक्ष एवम् संस्कृतिकर्मी चतुभक्त राई, डा.धनप्रसाद सुवेदी, डा.भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका नेता, वडाध्यक्षलगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

हलेसी गढीको संरक्षण र संवर्द्धनका लागि नगरपालिकाकै पहलमा २१ असार २०७८ मा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एवम् ऐतिहासिक अध्ययनको केन्द्रकारुपमा विकास हुँदै गएको छ । सल्लाघारीले ढाकेको हलेसीगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board