निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

बारा, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमास्थल बनाउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।

सुरुमा दुई लेनको रनवेसहित विमानस्थल निर्माण छिट्टै सुरु गरिने उनले प्रतिबद्धता व्यक्त गरे । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।

“विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले दुवै आयोजना बन्नुपर्छ,” उनले भने, “त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्यान्ड गराउने हो ।”

प्रधानमन्त्री देउवासँगै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताए । समयमै विमानस्थल नबने राज्यको अर्बौँ लगानी खेर जाने प्रचण्डको भनाइ छ ।

सो अवसरमा नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।

निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेत्रृ दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए ।

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला आएको केही दिनमै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुगेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board