निलम्बित नेतृ नुपुर शर्माले राष्ट्रसँग माफी माग्नुपर्ने भारतको सर्वोच्च अदालतकाे आदेश

काठमाडौँ, १७ असार । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणीका कारण विवादित बनेकी भारतीय जनता पार्टीकी निलम्बित नेतृ नुपुर शर्माले राष्ट्रसँग माफी माग्नुपर्ने भारतको सर्वोच्च अदालतले जनाएको छ ।

भाजपाकी निलम्बित नेतृ शर्माले आफूमाथि परेका सबै उजुरी दिल्लीमा स्थानान्तरण गर्न माग गर्दै सर्वोच्चमा दिएको उजुरीमाथि सुनुवाइ गर्दै उनको माग अस्वीकार भएको छ ।

‘देशमा अहिले जे अवस्था भइरहेको छ यसका लागि उनी एक्लै जिम्मेवार छिन्,’ सर्वोच्च अदालतले भनेको छ, ‘उनी र उनको बोलीले सिंगो देशलाई आगो लगाएको छ।’ यसवाहेक उदयपुरमा एक दिनअघि एक जनाको हत्या भएको अवस्थाका लागि पनि शर्मा नै जिम्मेवार रहेको सर्वोच्च अदालतले जनाएको छ ।

नूपुरको अभिव्यक्तिले देशमा सुरक्षा खतरा पैदा गर्नुका साथै अशान्ति मच्चाएका कारण उनले माफी माग्नु पर्ने अदालतले निर्णय गरेको हो । यद्यपि शर्माका वकिल मनिन्दर सिंहले नूपुरले यसअघि नै माफी मागिसकेको जनाएको भन्दै उनको पक्षमा अडान लिएका छन् ।

अदालतले भने नुपुरले टेलिभिजनमा आएर समग्र देशसँग माफी माग्नुपर्ने जनाएको हो । यससँगै अदालतले नुपुरविरुद्धका उजुरी दिल्ली पठाउनबाट रोकेको हो ।

पैगम्बर मोहम्मदको आलोचनापछि नुपुरमाथि बिहारदेखि दिल्लीसम्म विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिएका थिए । यस क्रममा शर्माले नै सर्वोच्च अदालतको ढोका ढकढक्याएकी थिइन् । उनले सबै राज्यमा भएका मुद्दा दिल्लीमै स्थानान्तर गर्नुपर्ने माग राखेकी थिइन् । नुपुरमाथि कोलकाता, दिल्ली, बिहार, पूणे लगायत राज्यमा मुद्दा दायर गरिएको थियो ।

शर्माले पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरेपछि देशव्यापी रुपमा उनीसँगै भाजपाको कडा विरोध हुँदै आएको छ । भारतसँगै अन्य इस्लामिक राष्ट्रहरूले पनि भारतीय जनता पार्टीको विरोध जनाएका थिए । शर्माले भने आफ्नो भनाइ फिर्ता लिँदै माफीसमेत मागेकी थिइन् । भाजपाले भने शर्मासँगै भाजपाका दिल्ली इन्चार्ज नवीन जिन्दललाई पनि पार्टीबाट निलम्बन गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board