जानेलाई शुभकामना दिनु र आउनेलाई स्वागत गर्नु नै राजनीतिः उपेन्द्र यादव

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले जानेलाई शुभकामना दिनु र आउनेलाई स्वागत गर्नु नै राजनीति रहेको बताए।

यादवका अनुसार पार्टी विभाजनलाई आफ्नो वशभन्दा बाहिरको परिस्थिति रहेकाे बताए । उनले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग सहमतिमा पार्टी विभाजन गर्ने भनिए पनि त्यसको विषयमा थप कुराकानी नभएको बताए।

‘सबै घटनाक्रम र परिस्थिति मान्छेको वशमा हुँदो रहेनछ। यसलाई त्यहीअनुसार बुझौं। कसरी विभाजन हुने भन्ने त्यस्तो केही छैन,’ यादवले भने,’जानेलाई शुभकामना दिँदै बाईबाई भन्ने हो, आउनेलाई स्वागत गर्ने हो। राजनीति यस्तै त हो नि!’

फरक प्रसंगमा उनले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने निर्णय भइसकेको बताए। मन्त्रीहरू फेर्ने निर्णय भए पनि कहिले फिर्ता बोलाउने र उनीहरूको ठाउँमा कसलाई पठाउने भनेर निर्णय नभएको उनको भनाइ छ।

‘मन्त्रीहरू फिर्ता हुने भनेर पार्टीले निर्णय गरिसकेको छ। अब कहिले र कसलाई पठाउने भनेर छलफल गर्छौं,’ उनले भने। जसपाको तर्फबाट सरकारमा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र यादव र वन मन्त्री रामसहाय प्रसाद यादव सहभागी छन्।

गत असोजमा सरकारमा सहभागी हुने क्रममा जसपाका मन्त्रीहरूलाई ६ महिनामा फिर्ता बोलाउने सहमति पार्टीमा भएको थियो। त्यसकै आधारमा नयाँ मन्त्रीहरू चयन गर्नुपर्ने दबाब यादवलाई छ। केही दिनअघि नेकपा ९एकीकृत समाजवादी० ले पार्टीका मन्त्रीहरू हेरफेर गरेको थियो।

पछिल्लो समय जसपामा विवाद चुलिँदै गएपछि पार्टी फुटको संघारमा पुगेको छ। यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सौहार्दपूर्ण वातावरणमा छुट्टिन तयार भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board