कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए ।
अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गरे । ‘४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विपे्रषणले देशको अर्थतन्त्र धानिएको छ,’ उनले भने, ‘स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।’ गरिबीका कारण नेपालमा सनातन हिन्दु धर्मप्रति आक्रमण बढ्दै गएको उनको भनाइ थियो ।
लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरुले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भने, ‘मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरुका दुःखका दिन अझै सकिएका छैनन् ।’
समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तरक्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया