आज ङातापोल मन्दिरको ३२० औं जन्मोत्सव मनाईयाे

भक्तपुर, १६ असार । आज नेपालकै अग्लो मन्दिर प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिरको ३२०औं जन्मोत्सव मनाईएकाे छ ।

मन्दिर निर्माण गरेको तीनसय बिस वर्ष पूरा भएको अवसरमा बिहिबार मन्दिरमा वर्ष बन्धन (बुसाँरा) पूजासँगै झण्डोत्तोलन गरिएको हाे । तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ। उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ।

बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ। यो भक्तपुरको तुछिमलाका अवालहरूद्धारा राख्ने गरिन्छ। तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवाल बुसाँराका लागि बर्सेनि २० जना अवालहरू पाँचतले मन्दिरमाथि जाने गरेको बताए। ‘ज्यान जोखिममा राखेर बर्सेनि २० जना बुसाँराका लागि जान्छन्,’ उनले भने, ‘यसका लागि मात्रै पनि हजारौं रुपैयाँ आवश्यक पर्छ।’ उनका अनुसार यो परम्परा चल्दा खटिएका स्थानीय बसेर भोज खानुपर्ने चलन छ। यसका लागि पनि खर्च लाग्ने उनले जनाए।

सयौं वर्षदेखि चल्दै आएको यो चलन आर्थिक अभावमा लोप हुने अवस्था आएपछि स्थानीय चिन्तित हुन थालेका छन्। स्थानीयका अनुसार वर्षमा एकपटक झण्डोत्तोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिँदैै आएको छ। आर्थिक अभावमा गत वर्ष पनि झण्डोत्तलन गरिएको थियो तर, गजुरसम्म नपुगी पहिलो तलामै झण्डा राखिएको थियो । संस्कृतिविद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा बुसाँरा मनाइँदै आएको बताए। भक्तपुरको पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा स्थापना भएको उनी बताउँछन्। पाँचतले मन्दिरको छाना बनाउने काम सबै भक्तपुरको तुछिमलाका अवालहरूले बनाएको भन्ने धारणा छ। त्यसैकारण झन्डोत्तोलनको काम तुछिमलाका अवालहरूले गर्ने गरेको उनी सुनाउँछन्।

टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ठान्ने भैरवनाथलाई शान्त गर्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीको स्थापना गरिएको भन्ने इतिहास छ। पाँचतले मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको उनी बताउँछन्।

ङातापोल मन्दिरमा ध्वजा फहराएपछि बोकाको बलि दिएर वर्षबन्धन पूजा गर्दा राज्यबाट विघ्न बाधा हट्ने जनविश्वास रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्। ङातापोल मन्दिर भक्तपुर तलेजुकै एक भाग हो। तलेजुका मूल नाइकेको सिफारिसमा ङातापोलका पूजारी नियुक्ति हुने व्यवस्था रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board