गायिका सुनार मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

काठमाडौँ । आफ्नै कोठामा मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव परीक्षण (पोष्टमार्टम) रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मंगलबार प्रहरीलाई पोष्टमार्टम रिपोर्ट उपलब्ध गराएको हो ।

प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा सुनारको मृत्युको कारण ह्याङ्गिङ उल्लेख छ । ‘रिपोर्टमा स्ट्राङ्गुलेसन (घाँटी दबाएर) मृत्यु भएको उल्लेख छैन । मृत्युको कारण ह्याङ्गिङ उल्लेख छ,’ प्रहरी स्रोतले भन्यो ।

पोष्टमार्टममा ह्याङ्गिङ उल्लेख भए पनि अहिले नै हत्या कि आत्महत्या भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा अन्य पक्ष पनि बाँकी नै रहेकाले हत्या कि आत्महत्या भन्ने विषय भने पछि खुल्ने प्रहरीको भनाइ छ ।

शरीरका भित्री चोट नदेखिएको, खुट्टामा सामान्य चोट रहेको र पाखुरामा समातेको दाग रहेको पोष्टमार्टममा संग्लन चिकित्सकलाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले भने ।

तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित डेरामा गत शनिबार बिहान सुनार मृत भेटिएकी थिइन् । प्रहरीले मृतकका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

आफन्तले श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । शुक्रबार राति श्रेष्ठ सुनारसँगै बसेका थिए । गायिका सुनारले आत्महत्या गरेको उनको दाबी छ । आफू ब्युँझदा सुनार झ्यालमा झुन्डिएको देखेपछि त्यहाँबाट खाटमा झारेर कृतिम श्वास दिएर बचाउन प्रयास गरेको श्रेष्ठले प्रहरीसामु बताएका छन् ।

तर, मृत्यु भएको यकिन भएपछि सुनारले झुन्डिन प्रयोग गरेको सल लिएर निस्किएको उनको बयान छ । श्रेष्ठले महाराजगञ्जस्थित भिसा सेन्टरनजिक रहेको झाडीमा सल फ्याँकेको बताएका थिए ।

राति १ बजेर २० मिनेटमा स्टाटस पोष्ट भएको थियो । ‘अरु बेला जसरी स्टाटस लेख्थिन, त्यो दिन पनि त्यही शैली देखिन्छ,’ अनुसन्धानमा खटिएका अधिकारी भन्छन्, ‘तर त्यति हुँदा हुँदै पनि श्रेष्ठ किन त्यहाँबाट निस्किए ? सल किन फ्याँके भन्ने कुरा रहस्यमै छ । त्यसैले हत्या भएको हुन सक्ने कुरालाई पनि अहिले नकार्न सकिँदैन ।’

प्रहरीले मृतकको मोबाइल अझै भेटेको छैन । प्राविधिकि अनुसन्धानका क्रममा श्रेष्ठ बिहानको ४ बजे त्यहाँबाट निस्किएको देखिएको छ भने मृतकले बोक्ने मोबाइलको अन्तिम लोकेशन बिहान ५ बजेर १० मिनेटमा नेपालटार क्षेत्रमै देखिएको थियो ।

एक्लै बस्दै आएकी सुनारले श्रेष्ठलाई श्रीमान् नै भनेर चिनाउने गरे पनि उनी कहिले काँही मात्र कोठामा आउने गरेको बताइएको छ । काभ्रे साँगागढी चोक स्थायी घर भएका श्रेष्ठ गोठाटारमा श्रीमती र चार छोराछोरीसहित बस्दै आएका छन् ।

सुनार भने पहिलो पतिसँग सम्बन्धविच्छेदपश्चात एक्ले बस्दै आएकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board