मदन भण्डारी र जवजको सान्दर्भिकता झनै टड्कारो

सम्पादकीय – सन् ’९० को दशकको प्रजातन्त्र र उदारीकरणको विश्वव्यापी लहरमा सोभियत संघ र पूर्वी युरोपका धेरै जसो देशका कम्युनिष्ट सत्ता ढलिरहेका बेला नेपालमा भने मदन भण्डारीको नेतृत्वमा कम्युनिष्ट पार्टीले लोकप्रियताको शिखर चुम्न शुरु गरेको हो । विश्व कम्युनिष्ट आन्दोलनको सफलता र विफलताको संश्लेषणसहित जनताको बहुदलीय जनवादले नेपालका सन्दर्भमा संविधानको सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचन, वहुदलीय प्रतिस्पर्धा, सामाजिक न्यायसहितको समाजवाद्उन्मुख अर्थतन्त्र, मानवअधिकार र असंलग्न एवं पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धजस्ता विषय समेटेको थियो ।

नेपालको तत्कालीन परिस्थितिमा यसप्रकारका लोकतान्त्रिक एजेण्डा अँगाल्नु निकै ठूलो जोखिमको विषय थियो । यद्यपि मदन भण्डारीको यही दूरदर्शीताले शुरुमा कार्यक्रमका रुपमा प्रस्तुत जनताको बहुदलीय जनवादलाई केही समयपछि एमाले मार्गदर्शक सिद्धान्त रुपमा लियो । तर कार्यान्वयनको कसीमा उतार्ने विषयमा सर्वथा चुक्न पुग्यो । वास्तवमा जनताको बहुदलीय जनबाद कम्युनिष्टहरु लोकतान्त्रिक हुन सक्दैनन् भन्ने प्रकारको दूषित अफवाहलाई चिर्ने चोटिलो प्रहार थियो । त्यसैले मुलुकमा त्यसयताका सबै राजनीतिक परिवर्तनका लागि कोशेढुंगो बन्दै जबजको विचारवाहक दल नेकपा (एमाले) लाई सत्तामा पु¥यायो ।

मदन भण्डारीको खुला राजनीतिक जीवन मुश्किलले आधा दशक मात्र रह्यो । २०४८ सालको पहिलो संसदमा भण्डारीद्वारा व्यक्त विचार आज तीन दशक पुगिसक्दा पनि उत्तिकै सान्र्दभिक छ । त्यसो त २०४७ सालको नेपाल अधिराज्यको संविधान घोषणाताका मदनले राखेको २७ बु्ँदे आलोचनात्मक टिप्पणी त्यसपछिको राजनीतिक आन्दोलनको एजेण्डा बन्यो । संविधानको स्रोत जनता हुनुपर्छ, मुलुक धर्मनिरपेक्ष बन्नुपर्छ, राजा र राजपरिवारको तजविजी हैसियत खारेज गर्नुपर्छ, सेना प्रतिनिधिसभाको अधीन हुनुपर्छ, सबैखाले मौलिक अधिकारको जगेर्ना हुनुपर्छ जस्ता २७ बुँदेले उठाएका एजेण्डा थिए । सारमा मुलुकको २०४७ पछिको पूरै ३ दशक मदन भण्डारीद्वारा त्यसवेला राखिएका २७ बुँदाकै सेरोफेरोमा अगाडि बढेको छ । नेपालको अन्तरीम संविधान, २०६३ र नेपालको संविधान २०७२ ले मदनका यी २७ बुँदामध्ये अधिकांशलाई ग्रहण गर्दै संविधानको मर्मका रुपमा अगाडि बढाएका छन् ।

गणतन्त्रात्मक नेपालको पहिलो संविधान २०७२ ले त जवजको मूल विशेषता सामाजिक न्यायसहितको समाजवाद्उन्मुख राज्य प्रणाली अंगीकार गरेको छ । यसबाट नेपाली राजनीतिमा मदन भण्डारीको लोकप्रियताका साथसाथै जवजको सान्र्दभिकता पुष्टि हुन्छ । र, नेताहरुको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा भएको वर्तमान घडीमा मदन भण्डारीको खाँचो अझ टड्कारो भएको छ ।

मुलुक र राजनीतिक विकासक्रमका लागि यति धेरै योगदान भए पनि अहिले मदनको उत्तराधिकारकारवाला पार्टी चरम संकटमा छ । एमालेमा मदन भण्डारीका उत्तराधिकारकारवाला नेताहरु केपी शर्मा ओली र माधवकुमार नेपालको नेतृत्व टकरावले पार्टीको साख र संगठन क्षतविक्षत भएको छ । सत्तारुढ दलभित्रको यो किचलोले नेपालको समग्र कम्युनिष्ट आन्दोलनमाथि पुनः एक पटक शंसययुक्त प्रश्न जन्माइदिएको छ । अझ त्योभन्दा महत्वपूर्ण विषयचाहिं मदन विचार र जवजका मूल प्रस्थापनाहरुलाई कार्यान्वयनको कसीमा लैजान अभिलेखीकृत संविधान र सात दशकदेखिको वाम–प्रजातान्त्रिक आन्दोलनको परिणाम गणतन्त्र संघियता र धर्मनिरपेक्षतासहितको प्रणाली नै संकटमा परेको छ । संविधान र प्रणालीमाथिको यो चुनौतिका लागि अन्य देशी/विदेशी तत्व जति जिम्मेवार छन्, त्यो भन्दा बढी सत्तारुढ दलभित्रको किचलो दोषी छ ।

यस अर्थमा एमालेभित्रको एकता अहिलेको संकट निवारणको पहिलो सूत्र हो । एकीकृृत एमालेको नेतृत्वमा बृहत्तर वाम एकताको मार्गबाट मात्र जवजले देखाएको समाजवादको लक्ष्यमा पुग्न सकिने सम्भावना रहन्छ । त्यसका लागि फेरि पनि मदन भण्डारीझैँ नेतृत्वको खाँचो छ । तर स्वर्गीय मदन पुनः बौरिन त सम्भव छैन । त्यसका लागि मदनका उत्तराधिकारी दावी गरेकाहरुले यो तथ्य बुझेर भावी रोडम्याप खिच्न सके मदनको विरासत जोगिनेछ नै, मुलुक र जनतालाई जबजले परिकल्पना गरेको समाजवादी आर्दशसहितको राज्यव्यवस्था स्थापनाका लागि कोशेढुंगो सावित हुनेछ । फेरि पनि बृहत्तर कम्युनिष्ट आन्दोलन निर्माण विना मदन विचारको औचित्य र सान्दर्भिकता सावित हुन सक्दैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board